नुवाकोटमा गोरु जुधाइँदै कार्यक्रम

माघ १,नुवाकोट- नुवाकोटमा माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोटको तारुकामा १६ र गेर्खु गाविसको बेत्रावतीमा ८ हल गोरु जुधाइँदैछ ।

तारुका गाविसमा सय वर्षभन्दा लामो समयदेखि निरन्तर गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइँदै आएको हो । गोरुको प्रतिष्पर्धा हेर्न ३० हजारभन्दा बढी व्यक्ति सहभागी हुने आयोजकको अपेक्षा छ ।

गोरुले प्रतियोगिता जिते गाउँमा आफ्नो फूर्ति नै बेग्लै हुने भएकोले पनि तारुका र धादिङ खाल्डे गाविसका किसानहरूले गोरुपालनमा विशेष ध्यान पुर्‍याउँछन् ।

किम्बदन्तीअनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा रहेको आफ्नो मामाघर आउँदा उनलाई मनोरन्जन दिलाउन गोरु जुधाइएको थियो । पछि यही परम्परा मनोरन्जनको माध्यम र खेलजात्रा बनेको हो ।