गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज हुदै

माघ १, भैरहवा  – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य औपचारिकरुपमा आजदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ बजे नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गर्ने तय भएको छ । त्यसका लागि प्रधानमन्त्री कोइराला अहिले बिहान ९ बजे भैरहवा जाने उहाँका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आज हुने भएपनि निर्माण प्रक्रियामा जुट्न विगत २ साताभन्दा अघिदेखि चिनिया निर्माण कम्पनीका उच्च अधिकारीहरु भैरहवा र लुम्बिनीमा अड्डा जमाएर आफ्नो आन्तरिक गृहकार्य सुरु गरिसकेका छन् ।

शिलान्यासपछि औपचारिकरुपमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने र तीन वर्षपछि २०१७ मा निर्माण सम्पन्न हुने गौतमबुद्ध विमानस्थल स्तरोन्नती आयोजना (जिबिए) का प्रमुख मुरारी भण्डारीले जानकारी दिनुभयो । विमानस्थलको निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीको रहेको छ । चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले सबैभन्दा कम मूल्यमा विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको आधारमा चयन भएको थियो ।

बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ ९१ पैसामा विमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ । भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको यो आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडी अर्थात ठूला जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना छ । प्राधिकरणले यो विमानस्थल स्तरोन्नति गर्न आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।