आज माघेसंक्रान्ती पर्व हर्सउल्लास पुर्व देशै भरी मनाईदै

माघ १, काठमाडौं- माघेसंक्रान्ती पर्व हर्सउल्लास पुर्व आज देशै भरी मनाईदै छ । शरिरलाई तातो बनाउने घिउ–चाकु, तिलको लड्डु र तरुल खाई आज माघे सङ्क्रान्ति पर्व मुलुकभर मनाइन्छ । यस पर्वका अवसरमा विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ समेत गरिन्छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउ–चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हु’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकरस्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।

आजका दिन भक्तपुरको टौमढीटोल लगायतका धार्मिक स्थलहरुमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी हुने उल्लेख छ ।

यसैबिच थारु तथा मगर समुदायमा यो पर्वलाई ‘माघी’ पर्वका रूपमा मनाउने गरिन्छ । ति समुदायहरुमा आजैदेखि नयाँ बर्ष सुरु भएको विश्वास गरिन्छ । माघी पर्वका अवसरमा आज राजधानीको टुलिखेल तथा खुलामञ्चमा मेलाको आयोजना गरिएको छ ।

यसैबिच मकर संक्रान्ती तथा माघी पर्वका अवसरमा राष्ट्रपति डा रामवरण यादवले शुभकामना सन्देश दिदै सबै जातजातिका संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न चाडपर्वहरूले ऊर्जा प्रदान गर्ने बताउनुभएको छ ।

यस्तै उप राष्ट्रपति प्रमानन्द झा, प्रधानमन्त्रि सुशिल कोईराला, राजनीतिक दलका प्रमुख नेताहरुले पनि शुभकामना सन्देश जारी गरेका छन् ।