गणतन्त्रबारे चैतभित्र जनमतसंग्रह गर्न माग

पुष ३०, काठमाडौं – राप्रपा नेपालले संघीयता धर्म निरपेक्षता र गणतन्त्रको विषयमा आउँदो फागुन वा चैतमा जनमत संग्रह गर्नुपर्ने बताएको छ । पुस २५ गतेदेखि बसेको केन्द्रीय समितिको बैठकले अन्तरिम संविधान र संविधानसभा नियमावलीमा व्यवस्था भए अनुसार ती विषय टुंगो लगाउन जनमत संग्रह गर्नुपर्ने निर्णय गरेको हो ।

राप्रपा नेपालले संविधानमा हिन्दु राज्यको सुनिश्चितता र धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे जनमत संग्रहका लागि दबाव दिन माघ ४ गतेदेखि देशव्यापी संघर्ष गर्ने पनि निर्णय गरेको छ । माघ ४ गते संविधान सभा घेराउ तथा जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने तथा माघ ६ गते संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई देशभरिबाट संकलित हस्ताक्षर बुझाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले जानकारी दिए ।

आन्दोलनलाई प्रभावकारी बनाउन राप्रपा नेपालले अध्यक्ष कमल थापाको अध्यक्षतामा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । राप्रपा नेपालले खाना पकाउने ग्यास अभावलाई बेलैमा समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।