नगरपरिषद अनिश्चित, एकिकृत योजना तर्जुमा हुन सकेन

सुबास लामिछाने, पर्वत- पौष मसान्त भित्र सम्पन्न गर्नुपर्ने कुस्मा नगरपालिकाको नगर परिषद अनिश्चित बनेको छ ।कुश्मा नगरपालिकामा  पदपुर्ति समितिको अध्यक्ष चयन सम्बन्धी बिबाद बढ्दै गएपछि  एकिकृत योजना तर्जुमा समितिको बैठकमा परिषद सम्पन्न गर्ने सहमति हुन नसकेको हो ।
कुस्मा नगरपालिकाका काममा कार्यकारी अधिकृत चण्डिका पौडेल र नेपाली कांग्रेस लगायतका दलले एकलौटी गरेको भन्दै एमाले लगायतका दलले बिरोध जनाएपछि परिषदको प्रकृया नै अघि बढ्न सकेको छैन ।

नगरपरिषदको तयारीका लागि हिजो  बोलाइएको एकिकृत योजना तर्जुमा समितिको बैठकमा एमाले र नेकपा९एकिकृत० लगायतका दलले पदपुर्ति समिति गठन गर्ने निर्णय खारेज नभए सम्म परिषदको काम अघि बढ्न नसक्ने अडान राखेपछि बैठक कुनै निर्णय बिना नै सकिएको छ । नेपाली कांग्रेस लगायतका दलले कर्मचारी छनौटको काम लोकसेवालाई जिम्मा दिएर नगर परिषद सम्पन्न गर्ने प्रस्ताब राखेका थिए ।
तर मसिर ११ मा भएको पदपुर्ति समितिको अध्यक्षमा नरबहादुर केसीलाई अध्यक्ष बनाउने निर्णय खारेज गर्नैपर्ने अडानबाट एमाले लगायतका दल पछि नहटेपछि बैठकमा सहमति कायम नभएको बताइएको छ । एमाले पर्वतका उपसचिब गोबिन्द पहाडीले उक्त निर्णय खारेज नभए सम्म नगरपरिषदको वातावरण नै नबन्ने बताए ।

नगरपालिकाले  स्थानिय निकाय पदपुर्ति समितीको अध्यक्ष पदमा गैर कानुनी तवरबाट राजनैतिक पार्टीको प्रतिनिधीलाई चयन गरेको  पुनरावेदन अदालत बागलुङमा रिट दायर भएपछि मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । कुश्मा नगरपालिका वडा नं १५ निवासी रामचन्द्र सुवेदीले  स्थानिय स्वायत्त शासन नियमावली २०५६ अनुसार कुनै पनि राजनैतिक पार्टीको सदस्य नभएको व्यक्तिलाई नगर परिषदले मात्र पदपुर्ति समितीको अध्यक्ष पदमा नियुक्त गर्न सक्ने कानुनी प्रावधान बिपरीत नेपाली कांग्रेस कुस्मा नगर समितिका सदस्यलाई अध्यक्ष बनाएको भन्दै रिट दायर गरेका थिए ।