सुदूरपश्चिमका पहाडी जिल्लामा आज काग तिहार मनाइदै

पुष ३०,बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आज काग तिहार मनाइदैछ । जसलाई स्थानीयबासिन्दो पुसे तिहार पनि भन्ने गर्दछन् । कार्तिकमा पर्ने दिपावली तिहारमा कागको पुजा गर्ने प्रचलन रहिआएको छ भने सुदूरपश्चिमका अधिकांस जिल्लाहरुमा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकारहरु खुवाएर पुजा गर्ने चलन रहेको छ ।

हरेक वर्ष पुस मसान्तमा सुदूरपश्चिमका मानिसहरुले सेल–रोटीलगायत विभिन्न मिठा–मिठा खाने कुराका परिकार पकाउने गर्दछन् । सेल–रोटी पकाउँदा सबै भन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ र सो खानेकुरा माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का का मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका मौलिक चाड पर्वहरु मध्येको एकचाड माघे सक्रान्ति अर्थात पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्दछन भने बिबाहित महिलाहरु माइती घर जाने गर्दछन् ।