राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्ट्म्यान भेटघाटमा व्यस्त

पौष २९,काठमाडौं- नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आजै काठमाण्डु आईपुग्नु भएका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान भेटघाटमा व्यस्त हुनु भएको छ । फेल्ट्म्यानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र संघ महाशाखाका प्रमुख एवं सहसचिव ताराप्रसाद पोखरेल र नेपालस्थित राष्ट्रसंघीय आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्ड्रिकले स्वागत गर्नु भएको थियो ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव जंगी अड्डा पुगि प्रधानसेनापति गौरव शम्शेर जबरासँग भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघलाई गरेको सहयोगको फेल्ट्म्यानले प्रसम्सा गर्नु भयो । उक्त अवसरमा प्रधानसेनापति राणाले संयुक्त राष्ट्रसंघका तर्फबाट नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायीत्वको लागि संयुक्त राष्ट्रसंघको छातामुनि रहि निरन्तर कार्य गर्ने मौका उपलव्ध गराएकोमा धन्यवाद दिनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।