प्रतिपक्षि दलहरुले बहिष्कार गरे पनि संविधानसभामा संवाद समितिको प्रतिवेदन पेश

पौष २९,काठमाडौं- प्रतिपक्षि दलहरुले बहिष्कार गरे पनि संविधानसभामा आज संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेश भएको छ । संवाद समितिका सभापति डा बाबुराम भट्टराई अनुपस्थित भएपछि समितिका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेस गरे लगत्तै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक माघ १ गतेसम्मका लागि स्थगित गर्नुभएको छ । एकीकृत माओवादी र मधेसी मोर्चाले आजको बैठकमा अनुपस्थित हुने जनाउदैै बैठक स्थगनको लागि सभामुखलाई अनुरोध गरेका थिए । सभाध्यक्षले बैठक स्थगित नगरेपछि बैठकमा एकीकृत माओवादी र मधेसी मोर्चाले बैठक बहिस्कार गरेका हुन् । बैठकपछि एमाले अध्यक्ष केपी ओलीले एकीकृत माओवादी नेतृत्वको मोर्चाले बिरोध गरे पनि अब प्रकृयाबाट संविधान बनाउने बताउनु भयो । ओलीले प्रकृया शुरु भइसकेकाले केही दिन ढिला भए पनि संविधान भने जारी हुने बताउनु भयो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि अब संविधान निर्माणको काम प्रक्रियाबाट जारी गर्ने गरी शुरु भएको बताउनु भयो । पौडेलले अब माघ १ गते बस्ने बैठकबाट संविधानको मस्यौंदा तयार पार्न मस्यौदा समितिलाई संवाद समितिको प्रतिवेदन पठाइने बताउनु भयो ।

बैठकपछि नेपाली काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने वा अहिलेको अन्तरिम संविधानलाई नै नयाँ संविधानबाट रुप दिने बाहेक अरु विकल्प नरहेको बताउनु भयो । हिजोको संवाद समितिको बैठकमै अन्तरिम संविधानलाई नै नयाँ संविधानका रुपमा नामाकरण गर्नुपर्ने प्रस्ताव राख्नु भएका देउवाले सबै पक्षको साझा सहमति अन्तरिम संविधान बाहेक अरु दस्तावेज नहुने बताउनु भयो । संघियता लगायतका विवादित बिषयलाई तीन वर्ष भित्र समाधान गर्ने यदि सम्भव नभए भावि पुस्तालाई त्यो छोडिदिनु पर्ने देउवाले बताउनु भयो ।
यसैबीच, संबिधानका विवादित बिषयमा सहमति गर्ने जिम्मेवारी पाएको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदन बिहान संविधानसभाका अध्यक्ष सुबास नेम्वाङलाई बुझाउनु भएको थियो । नेम्वाङले प्रतिवेदन बुझ्दै अब संबिधानका मूल्य मान्यता विधि अनुसार अघि बढ्ने बताउनु भयो । प्रतिवेदन बुझाउदै सभापति भट्टराईले सकेसम्म सहमतिको प्रतिवेदन ल्याउन खोजे पनि नसकेको बताउनु भयो ।