संविधानसभामा असहमतिकै प्रतिवेदन पेश गर्ने तयारी

पौष २९,काठमाडौं- संविधानका विवादित विषयमा सहमति जुटाउन संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति असफल भएको छ ।

पछिल्लोपटक गत पौष २४ गते संविधानसभाबाट अन्तिमपटकका लागि सहमति जुटाउने ‘म्यान्डेट’ पाएको संवाद समितिमा पटक–पटक छलफल भएपनि सहमति भने जुट्न सकेन । एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको समितिको सोमबार दिनभर बैठक बसेपनि दलहरु आ–आफ्ना अडानबाट पछि नहटेपछि सहमति नजुट्ने निष्कर्ष निकालिएको हो ।

संवाद समितिले अब मंगलबार बस्ने संविधानसभाको बैठकमा सहमति जुट्न नसकेको निष्कर्षसहितको संक्षिप्त प्रतिवेदन पेश गर्नेछ ।

यसअघि भट्टराईले ‘स्वविवेक’ प्रयोग गरी बुझाएको प्रतिवेदनको निष्कर्ष तथा सुझावखन्डको अन्तिम ‘प्याराग्राफ’ हटाएर प्रतिवेदन पेश गर्ने सहमति भएको छ । उक्त प्याराग्राफमा प्रतिवेदन छलफल वा निर्णयार्थ पेश नगर्ने भन्ने उल्लेख रहेको छ । उक्त भाग हटाएइपछि अब संविधानसभाले विवादित विषयहरुलाई मतदान प्रक्रियामा प्रवेश गराउन सक्ने छ ।

यसैबीच, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले अन्तरिम संविधानबाट ‘अन्तरिम’ शब्द हटाएर भएपछि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार भएको बैठकपछि देउवाले संविधान जारी गरेपछि रुपान्तरित संसदले संघीयतालगायतका विषयमा छलफल गर्ने र त्यसमा पनि सहमति नभए भावी पुस्ताले निर्णय लिने बताए ।