सहमतिको सम्भावना टुंगिएको सत्तारुढको दलहरुको निष्कर्ष

पुष २८, काठमाडौं- संविधानका विवादित विषयमा दलहरुबीच सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । प्रमुख तीन दलका शीर्ष नेता र जनजातिसम्बद्ध पार्टीका प्रतिनिधिहरुबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले नै सहमतिको सम्भावना न्यून भएको बताउनुभएको हो ।

प्रधानमन्त्री कोर्यरालाले सत्तारुढ दलहरुले ल्याएको ९ बुदे प्रस्ताव नै ‘बटमलाइन’ भएको बताउदै त्योभन्दा दायाबाया नहुने भन्दै त्यसैमा सहमति जनाउन एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले अब प्रक्रियाबाटै आगामी माघ ८ मा संविधान जारी गर्नेतर्फ लाग्ने पनि बताउनुभएको जनाइएको छ ।
एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्दै अब वार्ताको औचित्य नभएको बताउनुभएको थियो । सत्तापक्षले सहमतिको सम्भावना सकिएको भनेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरु पनि पुरानै अडानमा रहने भन्दै बैठक किन बोलाएको भनी प्रश्न गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
यसैविच संविधानका विवादित बिषयमा सहमति खोज्नुको सट्टा प्रमुख दलहरु माघ ८ को समयसीमालाई लम्ब्याउने गृहकार्यमा जुटेका छन् । आज दिनभर भएका छुट्टाछुट्टै छलफलमा दलहरुले बिवादित बिषयमा सहमति खोज्ने भन्दा पनि माघ ८ को समयसिमालाई कसरी लम्ब्याउन सकिन्छ भन्ने बारेको छलफललाई जोड दिएको श्रोतले जनाएको छ । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा आजसम्ममा सहमति गर्ने गरी संविधानसभाबाट म्याद पाएको छ । दलहरुबीच संविधानका विवादित मुद्धा संघीयता, शासकीय स्वरुप, निर्वाचत तथा न्याय प्रणाली लगायतका बिषयमा बिबवाद रहेको छ ।