आमाको नाममा नागरिकता दिन शीर्ष दल प्रतिबद्ध

पौष २८, काठमाडौं-यस अघि बुबाको नामबाट मात्रै नागरिकता दिने प्रचलनलाई लम्ब्याएर प्रमुख तीन दलका शीर्ष नेताहरुले अब बन्ने नयाँ संविधानमा आमाको नामबाट नागकिता पाउने व्यवस्था सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन् । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाका लागि अभियान चलाइरहेका महिला अधिकारकर्मीहरुसँगको भेटमा शीर्ष नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । संवैधानकि राजनीतिक संवाद तथा सहमति समितिको कार्यालय सिंहदरवारमा आज भएको भेटमा संविधानमा आमा वा बाबु मध्ये एकजनाको नामबाट उनीहरुका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरिने संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराईले बताए । प्रधानमन्त्री सुशिल कोइरालाले सरकार आमाका नाममा नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै  कोइरालाले आमालाई आफनो सन्तानलाई नागरिकता दिने हक सुनिश्चित गरिने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आमाका नाममा नागरिकता दिने निर्णय चाँडै गरिने धारणा राख्ेका थिए ।