मुस्तांग म्याक्सको उत्पादन बन्द

पुष २७, काठमाडौं-करिब सवा दशकदेखि नेपालमा नै सञ्चालन हुँदै आएको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सको उत्पादन पूर्ण रुपमा बन्द भएको छ । सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर ‘मुस्ताङ म्याक्स’ र ‘मुस्ताङ भि टु’ को उत्पादन पूर्णरुपमा बन्द भएको घोषणा गरेको  हुलास मोटर्सका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले बताए । आज विराटनगमा एक प्रेस मिटको आयोजना गर्दै गोल्छाले २०५४ सालमा नेपालमा पहिलोचोटी स्थापना भएको हुलास मोटर्सका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कम्पनीले आफ्नो उत्पादन पूर्णरुपमा बन्द गरेको घोषणा गरेका हुन्  ।

निर्देशक गोल्छाले चर्को कर, विदेशी मोटर्ससँग प्रतिस्पर्धा, दक्ष कामदारको अभावलगायत कारणले कम्पनीले मोटर उत्पादन गर्न बन्द गर्न बाध्य भएको जानकारी गराए । सरकारले लागू गरेको ‘युरो थ्री’ मापदण्डको आफूहरुले स्वागत गरे पनि लागू गर्न समय पर्याप्त नभएको र सरकारले थप गर्न नचाहेकाले आफूहरुले कम्पनीको उत्पादन पूर्णरुपमा बन्द गरेको बताए । चार करोड लगानीमा स्थापित भएको हुलास मोटर्स कम्पनी बन्द भएपछि त्यहाँ काम गर्ने २०० जना जनशक्ति बेरोजगार भएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भन्दै हुलास मोटर्सले उत्पादन गरेको मुस्ताङ म्याक्स जिप चढेपछि कम्पनीले चौतर्फी चर्चा पाएको थियो ।