माघ ८ मै संविधान ल्याउने सत्तारुढ दलको तयारी, पेलेर गए प्रतिरोध : मोर्चा

पुष २७, काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले प्रकृयामै गएर भएपनि निर्धारित समयमा नै संविधान जारी गर्ने निर्णयमा  पुगेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको  बैठकमा सहमतिको प्रयासलाई जारी राख्ने तर सहमतिका नाममा धेरै समय कुर्न नसकिने र प्रकृयामै गएर माघ ८ मा संविधान जारी गर्ने तयारी गरेका हुन् ।

संविधानको नियमावली अनुसार अगाडि बढ्ने र सहमतिको प्रयास जारी राख्ने तर प्रकृयामै गएर भए पनि संविधान माघ ८ मै जारी हुने नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताउनुभयो । माघ ८ मै संविधान जारी गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले दुईपक्ष, त्रिपक्ष र चारपक्ष र अन्य साना दलहरुसँगको छलफललाई तिव्रता दिएका छन् ।

उता एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले बहुमतको बलमा जबरजस्ती संविधान ल्याउन खोजे प्रतिरोध गर्ने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकमा सहमतिका लागि अधिकतम लचकता अपनाउने निर्णय गर्दै प्रक्रियालाई कुनै हालतमा अघि बढ्न नदिने भएका छन् ।

कांग्रेस–एमालेले सहमतिबाट अघि नबढी पेलेरै संविधान ल्याउन खोजेको विश्लेषण गर्दै जबरजस्ती गर्न खोजे संविधानसभाभित्रै प्रतिरोध गर्ने निश्कर्ष बैककले निकालेको सहभागी एक नेताले बताए ।