राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज बस्दै

पौष २७,काठमाडौं- संविधानसभाको चौथो ठुलो दल राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज बस्ने भएको छ । बैठकमा रप्रपा नेपालले नयाँ संविधान जारी गर्ने भनिएको मिति नजिकंदै गएपनि संविधान जारी हुने नहुने अन्योल रहेको भन्दैे माघ ८ लगत्तै आन्दोलन थाल्ने तयारी सम्बन्धी छलफल गर्ने भएको छ ।

राप्रपाले संविधान जारी भएपनि आफ्ना मुद्दा नअटाउने लगभग पक्का जस्तै भएपछि आन्दोलन थाल्ने निष्कर्षमा पुगेको हो । आन्दोलनको मिति स्वरुप माग र नारा तय गर्न उपाध्यक्ष राजीव पराजुलीको नेतृत्वमा २५ सदस्यीय समिति गठन गरिएको राप्रपा नेपालका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । समितिले आजसम्म गृहकार्य गरेर यसबारेको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने उहाँले बताउनुभयो ।