सरस्वतीलाई हराउदै मनाङ पोखरा कपको सेमिफाइनलमा

पौष २६,पोखरा – मनाङ मस्र्याङदी क्लब मनकामना केबल कार पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ४–१ ले हराउदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जिताउन अनिल गुरुङले २ तथा डोडोज र दिपक राईले गोल गरे । १२ औं मिनेटमा कप्तान गुरुङको गोलबाट अग्रता लिएको मनाङका लागि त्यसको ८ मिनेटपछि डोडोजले दोश्रो गोल गरे ।

खेलको ३४ औं मिनेटमा सरस्वती क्लवका शक्ति राईले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल भएन । दोस्रो हाफमा मनाङ फेरि आक्रामक भयो र उसले २ गोल थप्यो । ५३ औं मिनेटमा गुरुङले र ८१ औं मिनेटमा दिपक राईले गोल थपे ।
मनाङले अब सेमिफाइनलमा नेपाल पुलिस र नेपाल आर्मीबीच हुने क्वाटर फाइनलको विजेतासग खेल्नु पर्ने छ ।