पूर्वफुटबल खेलाडी राजुकाजी शाक्य प्रथम पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं- दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाललाई दुई स्वर्णपदक दिलाउन सफल पूर्वफुटबल खेलाडी राजुकाजी शाक्य प्रथम पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् ।‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको नामबाट राप्रपा नेपाल निकट राष्ट्रिय खेलकुद संघ नेपालले स्थापना गरेको पृथ्वी पुरस्कारबाट राजुकाजी सम्मानित भएका हुन् ।राजधानीमा शनिबार भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले राजुकाजीलाई पुरस्कारस्वरुप दुई लाख रुपैयाँ पनि प्रदान गरे ।

सन् १९८१ देखि राष्ट्रिय टिममा रहेर १६ वर्षसम्म निरन्तर फुटबल खेल्नेक्रममा राजुकाजीले पहिलो र छैटौं सागमा नेपाललाई स्वर्ण दिलाएका हुन् । सन् १९८४ मा काठमाडौंमा भएको पहिलो सागमा फुटबलतर्फ नेपालले स्वर्ण जित्दा राजुकाजी टिमका सदस्य थिए भने सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौं सागमा कप्तानी सम्हालेका थिए । नेपाली फुटबलले अहिलेसम्म हासिल गरेको महत्वपूर्ण अन्तर्राष्ट्रिय सफलता यिनै दुई स्वर्ण पदक नै हुन् ।

पुरस्कार पाएसँगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भइसकेका राजुकाजीले खेलको कदर भएको भन्दै अझ सशक्त भूमिका निभाउन उत्साही बनाएको प्रतिक्रिया दिए राप्रपा नेपालले हरेक वर्ष एकजना खेलकर्मीलाई पुरस्कृत गर्ने जनाएको छ । राप्रपा नेपाल खेलकुद विभागका संयोजक गणेश थापाले पुरस्कारको राशी बढ्दै जाने बताए ।कार्यक्रमका वक्ताहरुले पौष २७ गतेका दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक बिदा दिन पनि सरकारसँग माग गरे ।