मुआब्जा वितरण थाल्न प्रशासनले दियो निर्देशन

पुष २५, पोखरा-पश्चिमाञ्चल क्षेत्रीय प्रशासनले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गाको दोस्रो चरणको मुआब्जा वितरण थाल्न निर्देशन दिएको छ । मुआब्जा रकम कम भएको भन्दै प्रभावित क्षेत्रका जग्गाधनीले पहिलो चरणमा वितरण गर्ने भनिएको मुआब्जा रकम लिन अस्विकार गरि रहेका बेला प्रशासक  दिनेशकुमार थपलियाले माघको पहिलो साताभित्रै दोस्रो चरणको मुआब्जा वितरण गर्न निर्माण आयोजनालाई निर्देशन दिएका हुन् । उनले मुआब्जा विवादलाई लम्ब्याएर विमानस्थल निर्माणको कामलाई प्रभावित नपार्न स्थानीय बासिन्दालाई आग्रह गरे । 

मुआब्जा वितरणका लागि सूचना निकालेको ३५ दिन बितिसक्दा समेत मुआब्जा रकम बुझ्न कोही नआएपछि, आयोजनाले जग्गाधनीलाई अन्तिम ३ महिनाको समय दिएको छ । अन्तिम म्यादसहितको सूचना पनि प्रकाशित भैसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । स्थलगत अध्ययन सहित सरोकारवाला सँगको छलफलपछि नै मुआब्जा निर्धारण गरिएकाले यसमा अनावश्यक विवाद गर्नुको औचित्य नरहेको उनको भनाई छ ।