मुआब्जा रकम बुझ्न आएनन जग्गा धनी

पौष २४,पोखरा – पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रयोजनार्थ अधिग्रहण गरिएको जग्गाको मुआब्जा लिन जग्गा धनीलाई अन्तिम समय दिइएको छ ।मुआब्जा रकम कम भएको भन्दै जग्गा धनीले रकम बुझ्न अस्वीकार गरिरहेको बेला यसरी समयसीमा तोकिएको हो । पहिलो चरणमा ८० रोपनी जग्गा परेकालाई मुआब्जा लिन परियोजनाले सार्वजनिक सुचना निकालेको थियो ।

सूचना निकालेको ३५ दिन नाघिसक्दा पनि कसैले रकम बुझेका छैनन् । स्थलगत अध्ययन गरी सरोकारवालाहरुसँगको छलफलपछि मुआब्जा निर्धारण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।
विजयपुर खोलाको डिल र नगरपालिकाको मापदण्डअनुसार पनि घर निर्माण गर्न नमिल्ने कृषि भूमिलाई २० लाख रोपनीका दरले मुआब्जा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राउतको भनाइ छ ।
अधिकतम मुआब्जा भने ४२ लाख रुपैयाँ तोकिएको छ । जग्गा अधिग्रहण गरेर मुआब्जा दिनका लागि आयोजनासँग अहिले साढे २ अर्ब रुपैयाँ छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले दोश्रो चरणको मुआब्जा वितरण माघको पहिलो साताभित्र थाल्न आयोजनालाई निर्देशन दिएका छन् ।