भारी हिमपात सहित हिउँदे बर्षाले ताप्लेजुका किसान हर्षित

पौष २४,ताप्लेजुङ- ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात भएको छ भने चिसो अत्याधिक बढेको छ ।

हिमाली क्षेत्र घुन्सा, याङमा, ओलाङचुङगोला, पापुङ, याम्फुदिन लगायत माथिल्लो भू–भागमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् भने पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म बाक्लो हिउँ परेको छ ।
यो वर्ष ताप्लेजुङमा पटक पटक गरी अत्याधिक हिमपात हुँदा स्थानियको जनजिवन प्रभावित बनेको छ । उता, ठुलो पानी परेकाले कृषकलाई भने राहत मिलेको छ ।
धान काटेर गहुँ रोप्नका लागि बाँझो खेत जोत्न तयारी गरेका बेला परेको पानीले बेसीका कृषकलाई खेतीपातीमा सहयोग मिलेको हो । बेसी क्षेत्रमा पुस भित्रमा गहँु रोप्ने गरिन्छ ।
पानीले लेकाली क्षेत्रको अलैंची बगानमा सिचाइको काम गरेको छ । पाइपबाट भिजाएको पानीले भन्दा आकाशे पानीले भिजेको बगान राम्रो हुने भएकाले उत्पादनमा समेत वृद्धि हुने अलैची कृषकहरु बताउँछन् ।