माघ ८ मा संविधान आउदैन : प्रचण्ड

पुस २४, काठमाडौँ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा आगामी माघ ८ मा संविधान आउने अवस्था नरहेको प्रष्ट पारेका छन् ।

आफ्नै निवास लाजिम्पाटमा ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रतिनिधिमन्डलसँग विहीबार कुरा गर्दे उनले दलहरुबीचको सहमतिको वातावरण केही दिनयता बिथोलिएको बताए । आफूहरुले सहमतिको संविधान जारी गर्न प्रयास गरे पनि सत्ताधारी दलले प्रक्रियामा जोड दिएको आरोप उनको थियो ।

परिवर्तनका मुद्दाहरुलाई समावेश नगरी जारी गरिने संविधान आफूहरुलाई मान्य नहुने भन्दै उनले नयाँ बन्ने संविधानमा आदिवासी जनजाति, दलित, मुस्लिमका हक, अधिकार सुनिश्चित हुने आश्वासन दिए ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक समीम अन्सारीले नयाँ बन्ने संविधानमा मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान गरिनुपर्ने, संवैधानिक मुस्लिम आयोग बन्नुपर्नेलगायतका माग पूरा नभए संघर्षमा जाने चेतावनी दिए ।

गठबन्धनले मुस्लिम समुदायका मुद्दासहितको १५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।