देशको अखन्डतासँग खेलवाड नगर्न चेतावनी दिदै चिकित्सकदेखि पत्रकारसम्म सडकमा

पुस २३, काठमाडौँ – संविधानसभा निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार आगामी माघ ८ भित्रै संविधान जारी गर्न नागरिक अगुवाहरुले दबाब दिएका छन् ।प्रजातान्त्रिक विचार समाजले बुधबार माघ ८ मै लोकतान्त्रिक संविधान जारी गर्न माग गर्दै राजधानीको माइतीघरदेखि संविधानसभा भवनसम्म र्‍याली निकालेको छ ।

र्‍यालीमा सहभागीहरुले ‘समयमै लोकतान्त्रिक संविधान जारी गर’, ‘माघ ८ मै संविधान देऊ’, ‘मुलुकलाई खन्डित गर्ने काम नगर’ र ‘दोस्रो जनआन्दोलनको भावना विपरित जातीय संघीयतामा नजाऊ’ भन्ने सुझाव दिएका थिए ।र्‍यालीमा चिकित्सक, प्राध्यापक, पत्रकार, कानुन व्यावसायी, पर्यटन व्यवसायीसहित विभिन्न पेशा र व्यवसायमा आबद्ध पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका खेलेका उनीहरुले दलहरुले मनपरी ढंगले अघि बढेर देशको अखन्डतामाथि नै आँच पुर्‍याउने काम गर्न लागेको भन्दै सहमतिका नाममा ‘भद्रगोल’ नगर्न नेताहरुलाई चेतावनी समेत दिएका छन् ।