श्रमजीवी पत्रकारको हक हितका लागि पत्रकार महासंघको ज्ञापनपत्र

पुष २१ , काठमाडौं –  नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाललाई भेटी पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डले सञ्चार क्षेत्रको व्यावसायिक विकास, श्रमजीवी पत्रकारको हक हित, दक्षता अभिवृद्धि, सामाजिक सुरक्षा र स्वतन्त्रताका साथै सञ्चारमध्यममा समावेशीकरणका सन्दर्भमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, बीमा, द्वन्द्वपीडित पत्रकार कल्याण कोष र समावेशीतासम्बन्धी विषयहरु समावेश छन् । ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष डा. विष्टले सरकारले महासंघले राखेका मागहरु तत्काल संवोधन नगरे महासंघ आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

उहाँले सरकारबाट महासंघले राखेको मागको कार्यान्वयनकोे आश्वासन मिलिरहेको तर, कार्यान्वयन कहिल्यै नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन यो ज्ञापन पत्र बुझाएको प्रष्ट्याउनुभयो । ज्ञापन पत्र बुझ्दै मन्त्री डा. रिजालले महासंघले राखेको मागप्रति आफू जहिले पनि सकारात्मक रहेको र यसको कार्यान्वयनमा आफू गम्भीरताकासाथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष डा. विष्टसहितको उक्त प्रतिनिधि मण्डलमा महासंघका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्यका साथै सञ्चार सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता रहेको थियो ।