पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई सूचना अधिकृतमा भर्ना गर्न आयोगलाई आग्रह

पुष २१ , काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषय लिएर स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेका विद्यार्थीले सरकारी निकायमा सूचना अधिकृत पदका लागि दरखास्त खुलाउन लोकसेवा आयोगलाई आग्रह गरेका छन् ।केन्द्रीय पत्रकारिता विद्यार्थी समाजले आयोगका अध्यक्ष कयोदेवी यमीलाई आज उहाँकै कार्यकक्षमा भेटी चालु आर्थिक वर्षदेखि नै सूचना अधिकृत पद सिर्जना गरी दरखास्त माग गर्न आग्रह गर्र्दै ज्ञापनपत्र बुझाएका हुन् ।सो अवसरमा अध्यक्ष यमीले सूचना अधिकृतको पद सिर्जना हुनुपर्ने आफूले पनि महसुस गरेको बताउँदै सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।

सामान्य प्रशासन मन्त्रालयले पद सिर्जना गरी प्रक्रिया अगाडि बढाएमा आयोगका तर्फबाट पूर्ण सहयोग रहनेसमेत उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “पद सिर्जना भएपछि पाठ्यक्रम बनाउने र दरखास्त माग गर्ने काम मात्र आयोगको हो । पद सिर्जना गर्न समान्य प्रशासन मन्त्रालयलाई तपार्इंहरूले ध्यानाकर्षण गराउनुहोस् ।”उच्चस्तरीय प्रशासनिक सुधार समितिले समेत सबै सरकारी निकायमा सूचना अधिकृत नियुक्त गर्नुपर्ने र त्यस पदमा पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई मात्र सहभागी गराउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो ।

सूचनाको हकसम्बन्धी ऐन लागू भएपनि त्यसका लागि आवश्यक जनशक्तिका रुपमा रहेका आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउन आयोगले चासो नदेखाएकाले आयोगसमक्ष ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष भीम गौतमले बताउनुभयो ।सबै सरकारी निकायमा अनिवार्य सूचना अधिकृत नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि त्यसका लागि सोही विषय अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट तीन दशकदेखि पत्रकारितामा स्नातक अध्ययन पूरा गरेका विद्यार्थीहरू मनग्य रहे पनि पढाइअनुसारको पद सिर्जना हुन सकेको छैन ।