म्याग्दीका सबै गाविसमा वायरलेस इन्टरनेट जोड्ने जिविसको प्रस्ताव

पुष २१, म्याग्दी –  म्याग्दी जिल्लाका सबै गाविसमा वायरलेस इन्टरनेट सुविधा विस्तार गर्नका लागि जिल्ला विकास समितिले रु एक करोड ६५ लाख लागत अनुमानको प्रस्ताव तयार गरेको छ । जिल्लाको भौगोलिक अवस्था र प्राविधिक सर्वेक्षण गरी पूर्वाधार निर्माणका लागि सरोकारवालासँग समन्वयका लागि प्रस्ताव तयार गरेको हो ।

इन्टरनेट सेवा विस्तारका लागि भौगोलिक, आर्थिक, प्राविधिक र व्यवस्थापनसम्बन्धी अध्ययन एवम् सर्वेक्षण गरिएको हो । जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत माधवप्रसाद ढकालको संयोजकत्वमा गठित प्राविधिक सर्वेक्षण टोलीको अध्ययन र सर्वेक्षणका आधारमा प्रारम्भिक प्रस्ताव तयार गरिएको जिविसले जनाएको छ ।

दुर्गम भेगमा सूचना प्रविधिको पहुँच पु¥याउने योजना भएकाले लगानीका लागि ग्रामीण दूरसञ्चार प्राधिकरणमा समेत प्रस्ताव पेस गर्ने स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिए ।

सामाजिक कार्यकर्ता तथा म्यागासासे पुरस्कार विजेता महावीर पुनको प्राविधिक सहयोगमा स्थानीय विद्यालय र समुदायको पहलमा हालसम्म म्याग्दीका २१ गाविसमा ताररहित इन्टरनेट सेवा सुविधा विस्तार भएको छ ।

महावीर पुनकै प्राविधिक सहयोगमा सबै गाविसमा वायरलेस इन्टरनेट सेवा विस्तार योजना सञ्चालन गर्न लागेको जिविसले जनाएको छ । इन्टरनेट सेवा विस्तारका लागि ५० स्थानमा हटस्पट र रिले स्टेसन निर्माण गर्नुपर्ने जिविसले तयार गरेको प्रस्तावमा उल्लेख गरिएको छ । गाउँ बस्ती र दूरदराजमा इन्टरनेट सुविधाको पहुँच पु¥याउने महत्वाकाङ्क्षी योजनालाई सफल बनाउनका लागि जिल्लास्थित सरोकारवालाले समेत चासो दिन थालेका छन् ।

सर्वेक्षणमा सहभागी जिविसका शासन विज्ञ सन्तोष पन्थीका अनुसार जिल्लाभर १० एमविपिएस व्यान्डविथ क्षमताको इन्टरनेट विस्तार गर्न उपकरण खरिदका लागि रु ४२ लाख ६० हजार, ऊर्जा र सौर्य उपकरण खरिदका लागि रु ४२ हजार ४४ हजार, हटस्पट र रिलेस्टेसन बनाउन रु ६० लाख लागत आवश्यक पर्ने अनुमान गरिएको छ ।