मदिराको विश्व ब्राण्ड बकार्डी नेपाली बजारमा

पुष २१ , काठमाडौं – मदिराको विश्व ब्राण्ड बकार्डीले नेपालमा उत्पादन सुरु गरेको छ । कम्पनीले रोलिङ रिभरसँग मिलेर नेपालमा बोटलिङ सुरु गरेको बकार्डी भारत तथा दक्षिणपूर्वी एशियाका प्रवन्ध निर्देशक विजय सुव्रमणियमले काठमाडौंमा बताए ।

बकार्डीले अहिलेलाई नेपालमा बकार्डी लेमन र बकार्डी एप्पल दुई ब्राण्ड उत्पादन गर्ने जानकारी पनि उनले दिए । यी दुई ब्राण्डको ७५० एमएलको बोत्तल उपभोक्ताका लागि साढे नौ सय रुपैयाँ पर्ने पनि सुव्रमणियमले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ३७५ एमएलको उत्पादन ४९० रुपैयाँ र १८० एमएलको बोत्तल दुई सय ५० रुपैयाँ पर्ने उनले बताए ।

नेपालमा लामो समयको अध्ययनपछि अन्तराष्ट्रिय तथा राष्ट्रिय उत्पादनसँग प्रतिश्पर्धा गर्ने गरी बकार्डीले आफ्ना उत्पादन विक्री मूल्य तय गरेको पनि प्रवन्ध निर्देशक सुव्रमणियमले स्पष्ट पारे ।

कम्पनीले केही महिना भित्रै अर्को ब्राण्ड बकार्डी सुपरेरियर पनि नेपालमा उत्पादन सुरु हुने जानकारी दिएको छ । त्यसबाहेकका उच्च गुणस्तरका ह्विस्की, भोडका लगायतका उत्पादन भने आयात गरिनेछ ।

नेपालमै उत्पादन हुने बकार्डीका ब्राण्ड तथा विदेशबाट आयात गरिने ब्राण्डको वितरण भने शंकर समूहले गर्नेछ । हामी नेपालमा उपयुक्त समयमा आएका छौं, उपयुक्त साझेदार, उच्चस्तरीय गुणस्तर तथा प्रतिश्पर्धी मूल्यले बजार विस्तारमा सहयोग गर्नेछ, उनले भने ।