ग्रिल व्यवसायी कानुनी दायरामा

पुष २० , काठमाडौं – देशभर सञ्चालनमा रहेका करिब नौ हजार ग्रिल तथा स्टिल व्यवसायीमध्ये अधिकांश कानुनी दायरामा आएका छैनन् । ग्रिल तथा स्टिल व्यवसाय सञ्चालन गर्दै आएका देशभरका उद्योग अवैधानिक रूपमा सञ्चालन भइरहेकाले त्यस्ता उद्योगीलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको ग्रिल व्यवसायीले बताएका छन् । ग्रिल व्यवसायीलाई व्यावसायिक पहिचान दिनका लागि दर्ता गराएर कानुनी दायरामा ल्याउन पहल भइरहेको ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवालले राससलाई जानकारी दिनुभयो ।

उहाँले अवैधानिक किसिमले सञ्चालित सबै ग्रिल तथा स्टिल व्यवसायीलाई कानुनी दायरामा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउँदै आफूले शनिबार सम्पन्न ग्रिल तथा स्टिल व्यवसायी सङ्घको प्रथम अधिवेशनमा सहभागी व्यवसायीलाई दर्ता हुन निर्देशन दिएको उल्लेख गर्नुभयोे ।

व्यावसायिक मापदण्ड पूरा नगरी आफूखुसी अवैधानिक तरिकाले सञ्चालित उद्योग अव्यवस्थित हुनाले बढी जोखिम र दुर्घटना बढ्दै गएको बताइएको छ । व्यवस्थित र मर्यादित बनाई असल तथा सम्मानित पेसाका रूपमा स्थापित गर्न पहिलो चरणमा मापदण्ड पूरा भएका काठमाडौँ, भक्तपुर र ललितपुरका व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराउन लागिएको जनाइएको छ ।