मलेसियामा अलपत्र ४० नेपालीको उद्धार

पुष २० , काठमाडौं -रोजगारीका सिलसिलामा मलेसिया पुगेका ४० जना नेपालीको दुई महिनापछि उद्धार गरिएको छ । उनीहरु धौलागिरिका चारजना सहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका हुन् ।

गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट विमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपालीलाई कम्पनीले काम नदिएर अलपत्र परेको समाचार विभिन्न पत्रपत्रिका, अनलाइनलगायतमा प्रकाशित भएपछि शनिबारदेखि कम्पनीले काममा बोलाएको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिए ।

उनीहरु काम नपाएर विगत दुई महिनादेखि मलेसियाको दामनसरा भन्ने ठाउँमा भोकभोकै बस्नुपरेको समाचार सााार्वजनिक भएको थियो । जुन समाचार प्रकाशित भएपछि नेपालस्थित मेनपावर कम्पनी, सरकारी निकाय र सरोकारवालाहरुको दबाबमा मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीले धौलागिरिका चारसहित ४० जना नेपालीलाई शनिबारदेखि काममा बोलाएको थापाले जानकारी दिए ।