शाहको ‘बुर्जुवा मस्तिष्क’ बजारमा आयो

काठमाडौं – युवाकवि कमल शाहको कविता सङ्ग्रह ‘बुर्जुवा मस्तिष्क’ आज यहाँ सार्वजनिक गरिएको छ । मधुवन साहित्यिक प्रतिष्ठान नेपाल, साहित्य परिवार, नेपाल मेडिकल कलेज प्रालि र शब्दघर छापाखानाद्वारा आयोजित कार्यक्रममा प्राज्ञ अमर गिरीले सो कविता सङ्ग्रहलाई सार्वजनिक गरेका हुन् ।

सङ्ग्रहमा समसामयिक विषयमा आधारित ४१ कविता छन् । कार्यक्रममा कृतिकार शाह, कविहरू बाबु त्रिपाठी, आरएम डङ्गोल, हेम प्रवास, हरिमाया भेटवाल, पुरु लम्साल, राजीन पनेरुले सङ्ग्रहमा समावेश गरिएका ‘आमा’, ‘बुर्जुवा मस्तिष्क’, ‘रक्तिम खुकुरी’, ‘पीडानुभूति’, ‘सपनाबाहक’, ‘राष्ट्रवाद र बुख्याँचा जिन्दगी’ शीर्षकका कविता वाचन गरेका थिए । प्राज्ञ गिरीले समकालीन नेपाली साहित्यमा सबैभन्दा बढी लेखिएको विधा कविता भए पनि त्यसलाई पाठकको विषयवस्तु बनाउन नसक्नु चुनौतीपूर्ण भएको बताए । कवि डङ्गोलले शाहका कविताहरू विचारमा केन्द्रित भएको र पठनीय भएको टिप्पणी गरेका थिए ।