जनमैत्री संविधान नआए आफैले संविधान लेख्ने उपेन्द्र यादवको चेतावनी

पुष २० , काठमाडौं – मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलले जनताको भावना सम्बोधन हुने गरी संविधान बहुमतीय प्रक्रियाबाट नै जारी गरे पनि आफूहरुलाई आपत्ति नहुने बताएका छन् । सो पार्टीको पर्सा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यदि जनताको भावनालाई सम्बोधन हुने गरी संविधान जारी नभएका खण्डमा जनता आफैँले संविधान लेख्ने चेतावनी दिए ।

उनले माघ ८ मा संविधान आउने सम्भावना नभएको जिकिर गर्दै सोही मितिमा नै संविधान जारी गर्नुपर्छ भन्ने जबर्जस्ती पनि नभएको तर्क गरे । अहिले वार्ताको नाउँमा नाटक भएको टिप्पणी गर्दै उहाँले सार्थक वार्ता भएको खण्डमा संविधान जारी गर्न सकिने पनि बताए । आफूहरु समग्र मधेस स्वायत्त प्रदेशकै पक्षमा रहेको दाबी गर्दै यादवले विगतमा भएका सबै सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको आरोप लगाए ।
उनले सभाध्यक्षलाई संविधान निर्माणका लागि जिम्मा दिन नसकिने बताउनुहुँदै संविधानको मस्यौदा जनतामा पठाएर जनताले अनुमोदन गरेपछिमात्रै जारी गर्नुपर्नेमा जोड दिए ।