हिमपातले जनजीवन अस्तव्यस्त

पुष २०, मुस्ताङ-  भारी हिमपातका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । बिहीबार दिउँसोदेखि परेको हिउँका कारण दुई दिनदेखि विद्युत् आपूर्ति ठप्प छ भने हवाई उडान रोकिएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमी बेनी–जोमसोम सडक पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि हिउँ पर्ने क्रम रोकिए पनि अत्यधिक चिसाका कारण हिउँ पग्लन सकेको छैन । तीव्र गतिमा बहने हावा र पानीका कारण सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । सदरमुकाम जोमसोमका सानाठूला पसल र उद्योग सबै सुनसान बनेको छ । हिमपातले मुस्ताङ्गी जनजीवन अस्तव्यस्त बनाएको स्थानीयवासी कुलबहादुर थकालीले जानकारी दिनुभयो । “कोही पनि बाहिर निस्कन सकिरहेका छैनन्, बिजुली छैन, पानी समस्या भइरहेको छ”– उहाँले भन्नुभयो । टुकुचे र मार्फा क्षेत्रमा आधा दर्जनभन्दा बढी खम्बा भाँचिएपछि दुई दिनदेखि विद्युत् आपूर्ति ठप्प बनेको नेपाल विद्युत् प्राधिकरणका प्राविधिक बाबुराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ती क्षेत्रमा विस्तार गरिएका टेलिफोन र बिजुलीका तार पनि चुँडिएका छन् । विद्युत् आपूर्ति ठप्प बनेपछि मोबाइल र इन्टरनेट सेवा अवरुद्ध बनेको छ । “सडकमा तीन फिटसम्म हिउँ छ, मर्मत गर्न जान सकिएको छैन”–प्राविधिक थापाले भन्नुभयो–“पानी नरोकिने र हिउँ नपग्लने हो भने अझै यो मर्मत गर्न एक हप्ता लाग्छ ।”