स्वस्थानी व्रत आजदेखि सुरु

पुष २०, काठमाडौँ- एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत लिए मनोकाङ्क्षा पूरा हुने विश्वास परापुर्व कालदेखि नै रहीआएको छ । एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।

मध्याह्नकालमा स्वस्थानी देवीको पूजाआजा हुने भएका कारण आज र भोली दुवै दिन पूर्णिमा तिथि परे पनि आज मध्याह्नकालमा पूर्णिमा तिथि परेका कारण आजदेखि व्रत सुरु गरिएको पंचांग जिनर्णयक समितिले जनाएको छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो ।


पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।