सहमति जुटाउने कसरत जारी, आज पनी पुनः छलफल हुने

पुष २०, काठमाडौँ-  संविधानका विवादित विषयमा सहमति जुटाउन तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठक आज पनि बस्ने भएको छ । शनिबार सहमति जुटाउन बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि विभिन्न चरणमा छलफल हुन लागेको काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेका कारण अहिल्यै सबै विषयबाहिर लैजानुभन्दा पनि छलफलले विश्वासको वातावरण तयार पारेको र आगामी माघ ८ गते संविधान जारी हुने विषयले प्रवेश पाउने बताइएको छ । संविधान जारी गर्ने मिति माघ ८ आउन अब १९ दिनमात्र बाँकी रहेको अबस्थामा पनि अहिले सम्म दलहरुका बीचमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति जुट्न सकिरहेको छैन । यी मुख्य विषयहरूमा सहमति जुटाउनका लागी दलहरुले पटक पटक छलफलहरू गरिसकेका छन, तर अहिले सम्म निष्कर्षमा पुग्न भने सकिरहेका छैनन । यस्तै नेताहरूले सहमति नहुँदासम्म बैठकमा छलफल भएका विषयका बारेमा विवाद उत्पन्न हुने गरी कुनै पनि प्रतिक्रिया नदिने बताएका छन् । छलफलमा दिनभरिजसो जारी बैठकमा प्रमुख विवादित विषयमा सहमतिनजिक पुगेको तर उल्लेख गर्न लायक कुनै पनि ठोस प्रगति हुन नसकेको नेताहरूले प्रक्रिया दिएका छन् ।
बैठकमा भएका छलफललाई आ–आफ्नै तवरले सार्वजनिक गर्दा थप विवाद उत्पन्न हुने र परिस्थिति बिग्रने भएकाले सहमति भएपछि सबै विषयलाई सार्वजनिक गर्ने अनौपचारिक सहमति गरेका हुन् ।