राष्ट्रिय अखण्डताविरुद्धको कार्यक्रममा रोक

पुस १९, मोरङ-  मोरङ प्रशासनले स्वतन्त्र मधेस राष्ट्रको माग गर्दै आएका डा सिके राउतको कार्यक्रमको प्रचारप्रसार गर्न आजबाट रोक लगाएको छ । मोरङको विराटनगरमा आज राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनले आमसभा गर्ने थाहा भएपछि प्रशासनले कार्यक्रम र प्रचारप्रसारमा रोक लगाएको हो । गठबन्धनले विराटनगरको डिग्री क्याम्पसमा सभा गर्ने भन्दै प्रचारप्रसार गरिरहेको थियो । प्रशासनले प्रचारप्रसारमा रोक लगाउँदै आज गर्ने भनिएको राउतको आमसभासमेत गर्न नदिने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राष्ट्रिय अखण्डताविरुद्ध प्रचारप्रसार भइरहेका कारण राउतको सभाको प्रचारप्रसार र सभा आयोजना गर्न रोक लगाइएको बताए ।