नेम्बाङ ज्ञानेन्द्र र महेन्द्रको बाटोमा हिँड्न खोजेको आरोप

पुष १८, काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी आफूलाई दिन गरेको प्रस्तावप्रति एकीकृत माओवादीले आपत्ति जनाएको छ । पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा एमाओवादी प्रवत्ता दीनानाथ शर्माले नेम्वाङको प्रस्ताव अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभयो । सभाध्यक्ष नेम्वाङले लोकतन्त्रसंगै पदको समेत खिल्ली उडाएको शर्माले आरोप लगाउनुभएको छ ।

प्रवक्ता शर्माले संविधानसभा नियमावलीका विभिन्न धारालाई निलम्बन गरेर संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समितिलाई बाइपास गरी मस्यौदा बनाउने अधिकार माग्नु लोकतन्त्रकै उपहास भएको दावी गर्नुभयो । सभाध्यक्षको काम दलहरुलाई समन्वय र दवाव दिने भएको भन्दै नेम्बाङले एमाले नेताको जस्तो भनाई राखेको शर्माले बताउनु भयो । सभाध्यक्षको भनाईले नेपालको लोकतान्त्रिक प्रणालीलाई समाप्त पार्न खोजेको बताउनु भयो ।
संविधानमा व्यवस्था भएका प्रावधानलाई खारेज गरेर निकास दिन्छु भन्नु गलत भएको ठहर एमाओवादीको छ । संवाद समिति, मस्यौदा समिति, नियमावलीका धाराहरु खारेज गरेर संविधान घोषणा गर्छु भन्ने अभिव्यक्ति अलोकतान्त्रिक छ– प्रवक्ता शर्माले भन्नुभयो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले हिजो प्रमुख दलका नेताहरुको उपस्थितिमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधानका विवादित विषयमा सोमबारसम्म सहमति गर्न नसके मस्यौदा बनाउने अधिकार आफूलाई दिन आग्रह गर्नुभएको थियो ।