इतिहास नलेखिने शहिद हो नारी : अदिप्ता एलीना

नारी एउटी यस्ती सहिद हो ,
जसको कथा लेखिदैन
केवल उसका टुक्रिएका साँझहरुले 
आफ्नै अखण्डतामा बन्दि भएको नदीमाथि उसको गाथा गाउछन 
तिमीलाई कहिल्यै था थियो र ,
उसको आफ्नो आकाश छ भनेर ?
ऊ अर्थात् नारी ..हो नारी ..
के कहिल्यै सोचेका छौ ? उ पनि आफ्ना 
सपनाहरुसंग हुर्किएकी हो भनेर ..
तिम्रो चाख त यस्तो इतिहास हो 
जसलाई तरबारले लेखिन्छ 
अनि उसको प्रतिष्ठा जसलाई
तिमि आफ्नो हतियारको चमकमा बाजी लगाउछौ 
रगत आफु बगाउछौ र भन्छौ 
यो नारीले गरेकी हो 
निर्दोषलाई मार्छौ र भन्छौ 
यो इतिहासमा नारीले खेलेको भूमिका हो 
तिम्रो इतिहास एक चिहान हो 
जसमाथि तिमि यस्तो शिलापत्र खोपेर राख्छौ ,”यसभित्र कि नारी सधै अदृश्य थिइ ”……….
हो इतिहासमा नारी अदृश्य हुन्छे 
तिम्र इतिहासमा नारी गीतहरु फुटेका साँझ हुन्छे