पर्वत सदरमुकाम तीन सातादेखि अन्धकारमय

पुष १८, पर्वत – पर्वत सदरमुकाम कुश्माबजार तीन सातादेखि अन्धकार बनेको छ । कुश्माबजार– ८ र ९ मा जडित ट्रान्सफर्मर मर्मत नगर्दा सदरमुकाम कुश्माको आधा बस्तीका बासिन्दा तीन सातादेखि अध्यारोमा बस्न बाध्य छन् ।

गत मङ्सिर २८ गते दुर्लुङचोकमा रहेको ट्रान्सफर्मर जलेर विद्युत अवरुद्ध भएपनि विद्युत् प्राधिकरणले अहिलेसम्म मर्मतमा चासो नदेखाएकाले स्थानीय बासिन्दा अध्यारोमा बस्न बाध्य भएका हुन् । प्राधिकरणले एकसाताभित्रै ट्रान्सफर्मर मर्मत गरेर विद्युत् सुचारु गर्ने आश्वासन दिएपनि तीन सातासम्म मर्मतमा चासो नदेखाएको भन्दै बिहीबार स्थानीय बासिन्दाले विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।