एमालेकोे बृहत् कार्यकर्ता भेला आज देखि सुरु

पुष १८, काठमाडौँ- नेकपा (एमाले)ले आज देशका मुख्य जिल्लामा बृहत् कार्यकर्ता भेला आयोजना गर्दै छ । पार्टी केन्द्रीय सचिवालयको एघारौँ बैठकको निर्णय अनुसार आगामी माघ ८ गतेभित्रै संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न तथा संविधानका अन्तर्वस्तुमा पार्टी दृष्टिकोण स्पष्ट पार्न देशका मुख्य सहरसहित सबै जिल्लामा कार्यकर्ता भेला गरिने भएको एमालेले जनाएको छ । महासचिव ईश्वर पोखरेलले भेलामा पार्टी अध्यक्षलगायत वरिष्ठ नेता, पदाधिकारी एवम् अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको छ ।

आजको जनकपुरमा हुने भेलामा अध्यक्ष केपी शर्मा ओली त्यस्तै विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगन्जमा नेता माधवकुमार नेपाल, नेपालगन्जमा उपाध्यक्ष वामदेव गौतम, पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारी, धनगढीमा उपाध्यक्ष युवराज ज्ञवाली, भीमदत्तनगरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै बुटवलमा उपाध्यक्ष भीमबहादुर रावल, लहानमा महासचिव पोखरेल, चितवनमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सुर्खेतमा उपमहासचिव घनश्याम भुसाल, हेटौँडामा सचिव प्रदीपकुमार ज्ञवाली, धनकुटामा सचिव पृथ्वीसुब्बा गुरूङ, बाग्लुङमा सचिव गोकर्णराज विष्ट र डोटीमा सचिव योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य, सभासद् र अन्य नेताले पनि विभिन्न जिल्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने र ती कार्यक्रमको संयोजनको जिम्मेवारी सम्बन्धित अञ्चलका इन्चार्जलाई प्रदान गरिएको एमालेले जनाएको छ ।