इंगलिस प्रीमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा चेल्सी पराजित

पुष १८, काठमाडौँ- इंगलिस प्रीमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा चेल्सी पराजित भएको छ । लिग लिडर चेल्सीलाई लन्डन प्रतिद्धन्द्धी टोटनह्याम हट्सपरले ५–३ ले हराएको हो ।

यो हारले चेल्सीलाई उपाधि होडमा केही कमजोर बनाएको छ । जारी लिगमा चेल्सीको यो दोस्रो हार हो । यसअघि न्युकासल युनाइटेडविरुद्धको खेलमा पनि चेल्सी पराजित भएको थियो । तालिकामा शीर्ष स्थानको चेल्सीलाई दोस्रो स्थानको म्यानचेस्टर सिटीले अंक बराबरी गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३–२ ले हराएको हो ।

यसैगरी, तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडले स्टोक सिटीसँग १–१ गोलको बराबरी खेल्दा चौथो स्थानको साउथह्याम्पटनले आर्सनललाई २–० ले पाखा लगायो । गए रातिका अन्य खेलहरुमा लिभरपुल र लेस्टर सिटीले २–२ गोलको तथा न्युकासल युनाइटेड र बर्नलेले ३–३ गोलको बराबरी खेलेका छन् ।

यसैगरी, हल सिटीले एभर्टनलाई २–० ले हराँउदा एस्टन भिल्ला र क्रिस्टल प्यालेसले गोलरहित तथा वेस्टह्याम युनाइटेड र वेस्ट ब्रोमविच आल्बीयनले १–१ गोलको बराबरी खेलेका छन् । प्रीमियर लिगमा २०औं चरणका खेलहरु सकिँदा चेल्सी ४६ अंकका साथ शीर्ष स्थानमा छ । समान अंक जोडेको म्यानचेस्टर सिटी गोल अन्तरमा पनि समान भएपछि चेल्सीसँग शर्षि स्थान बाँडेको छ । ३७ अंकको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ । ३६ अंक जोडेको साउथह्याम्पटन चौथो तथा ३४ अंक जोडेको टोटनह्याम हट्सपर पाँचौ स्थानमा छन् ।