आइसीसीको सदस्यता लिने प्यालेस्टाइनको तयारी



पुष १७,काठमाडौँ – प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीको सदस्यता लिनका निम्ति आवश्यक कागजातहरुमा हस्ताक्षर गरेका छन्। रमल्लाहस्थित एउटा बैठकमा आइसीसीको जग मानिने रोम विधानको पक्षमा उनले हस्ताक्षर गरेका हुन्। प्यालेस्टाइनले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता पाएपछि इजरेलमाथि युद्ध अपराधसम्बन्धी आरोपबारे मुद्दा चलाउन सकिने बताईएको छ। प्यालेस्टिनी कदमको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले भर्त्सना गरेका छन्।
२०१७ को अन्त्यसम्म प्यालेस्टिनी भूभागमाथि इजरेली नियन्त्रण अन्त्य गर्नुपर्ने मागसहितको एउटा संकल्प प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषद्ले अस्वीकृत गरिदिएपछि अब्बासले रोम विधानको पक्षमा हस्ताक्षर गरेका हुन्।

सुरक्षा परिषद्का ८ सदस्य राष्ट्रहरुले उक्त संकल्प प्रस्तावको पक्षमा मतदान गरेका थिए भने अमेरिका र अष्ट्रेलियाले विपक्षमा मतदान गरेका थिए। बिबिसी