प्रहरी कार्यालयमा दुई पक्षबीच झडप, दुई घाइते

पौष १५, काठमाडौं – सिरहाको महेशवारीस्थित इलाका प्रहरी कार्यालयभित्रै जग्गाको विषयमा पञ्चायत गर्न पुगेका दुई पक्षबीच झडप भएको छ । झडपमा दुई जना गम्भीर घाइते भएका छन् ।  घाइते हुनेमा इटहर्वा–७ का राजकुमार यादव र राजेन्द्र यादव छन् । झडपमा इँटा लागेर घाइते यादवद्वयको उपचार अहिले लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा भइरहेको स्थानीय अशोक यादवले जानकारी दिए ।

घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर छ । उनको अनुहारमा इँटा प्रहार गरिएको छ । नाकबाट रगत बगिरहेको छ । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनलाई थप उपचारका लागि विराटनगर लाने तयारी भइरहेको छ ।

पञ्चायत भइरहेको समयमा विवाद हुँदा इटहर्वा– ७ कै ओमप्रकाश यादव र सन्तोष यादव एक्कासि इँटा प्रहार गरी विपक्षी राजकुमार र राजेन्द्रलाई घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । इँटा प्रहार गर्ने ओमप्रकाश र सन्तोष फरार भएका छन् । प्रहरी कार्यालयबाटै इँटा प्रहार गर्ने फरार भएपछि प्रहरीले जानेर पक्राउ नगरेको पीडितले आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले सोमबार साँझ दुई पक्षबीच भइरहेको पञ्चायत ९छलफल०मा विवाद हुँदा झडप भएको बताए । उहाँले इँटा प्रहार गर्ने फरार भएकाले खोजी कार्य जारी रहेको र पक्राउ परेपछि कानुनबमोजिम कारबाही गर्ने बताए ।