चिसोका कारण जनजीवन कष्टकर

पुष १४, काठमाडौ- केही दिन यता देखि बढेको चिसोका कारण मुलुकभरको जनजीवन प्रभावित बन्दै गएको छ । त्यसमाथि  विगत एक सातायता निरन्तर परेको शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवृद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालक पनि प्रभावित भएका छन् ।

चिसो बढेपछि चिसोबाट बच्न सर्वसाधारणले जाडो छल्न ठाउँठाउँमा आगो बालेर बसेका छन् । बाक्लो हुस्सुसहितको चिसोका कारण बाटोसमेत राम्रोसँग नदेखिँदा छोटो तथा लामो दूरीका सवारी साधन चलाउन कठिनाइ भएको स्थानीयको भनाई छ ।  चिसोका कारण रूपन्देहीको भैरहवा, लुम्बिनी, मर्चवार, पर्रोहा, सालझण्डी, मणिग्राम, शङ्करनगरलगायत तथा नवलपरासी र कपिलवस्तुका सहरका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाका बिरामीको सङ्ख्या बढ्दै गएको अस्पतालले जनाएका छन् ।

जाडो तथा शीतलहरका कारण बालबालिकामा निमोनिया रोग बढी देखापरेको छ भने वृद्धवृद्धामा दमको रोग बढ्न गएको चिकित्सकको भनाइ छ । चिसो र शीतलहरका कारण स्कुलमा विद्यार्थीको सङ्ख्यामा कमी आएको छ भने कतिपय सरकारी विद्यालयले जाडो बिदासमेत दिएका छन् । जाडोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीसमेत कम देखिन थालेका छन् । बाक्लो कुहिरोका कारण भैरहवा–काठमाडाँै सेक्टरका हवाई उडानसमेत प्रभावित भएका छन् ।