हात्ती महोत्सवमा आज पनि विभिन्न प्रतियोगिता हुदै

पुस १३,काठमाडौं – चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आज पनि विभिन्न प्रतियोगिताहरु हुदैछन् । आज प्रतियोगिताका दोस्रो चरणका खेलहरु हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । महोत्सव अन्र्तगत आयोजित हात्ती दौडको दोस्रो चरणमा आज १२ वटा हात्तीबीच प्रतिस्पर्धा हुदैछ ।

आजको खेलबाट ६ वटा हात्ती तेस्रो चरणमा प्रवेश गर्ने संघका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । दोस्रो चरणमा होटल ल्याण्ड मार्क पोखराको लक्ष्मीकली ए, अल्फाविटा इन्टीट्युट काठमाडौको लक्ष्मीकली वि, बुबो ट्राभल स्लोभाकियाको व्युटीकली,सिद्धार्थ रेफ्री जिरेटरको सुरजकली, आउट फाईन्ड एडभेन्चरको लक्कीकलीबीच प्रतिस्पर्धा हुने रेग्मीले बताउनुभयो । त्यस्तै जिल्ला विकास समितिको रानीमायाकली, पोखरा अल्ट्रालाईटको मारुतीकली, नेपाल सोसल टे«डको जुनकली, अन्नपुर्ण पोष्टको बब्किनकली, सिनेम्याक्स ट्राभल एण्ड टुर्सको जानकीकली, ब्लुप्यानेट जर्मनीको एकताकली र हिमालयन इनकाउन्टरको चम्पाकलीले पनि दौडमा प्रतिस्पर्धा गर्नेछन् । महोत्सव अन्र्तगत हात्तीका छावाहरुबीचको फुटवलमा सिजी फुड्स र प्रभु वैंक भिड्ने संघका सचिव रेग्मीले बताउनुभयो । यसैगरी आजै टाँगा, गाडा र डुङ्गा दौडको पनि दोस्रो चरणका खेल हुनेछन् । आजै हात्ती सुन्दरी प्रतियोगिता पनि हुदैछ । हात्ती सुन्दरी प्रतियोगितामा सहभागी हुने ५ वटा हात्ती मध्येबाट ३ वटा हात्ती दोस्रो चरणमा प्रवेश गर्नेछन् ।