अवरुद्ध भोटेकोसी आयोजनाको टावर निर्माणकार्य सुरु

पुष ११, काडमाडौँ-विगत पाँच महिनादेखि अवरुद्ध ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाको क्षतिग्रस्त प्रसारण लाइनको टावर निर्माण कार्य सुरु भएको छ । स्थानीय जनतालाई ६ प्रतिशत सेयर दिने सहमति भएपछि निर्माण कार्य सुरु भएको आयोजनाका महाप्रबन्धक नरेन्द्र प्रजापतिले जानकारी दिए । क्षतिग्रस्त चारवटा टावरको काम तीन सातामा सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ । सो आयोजनाबाट उत्पादित विद्युत् त्यसै खेर गएपछि देशमा थप दुई घन्टा विद्युत्भार कटौती वृद्धि भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

साउन १७ गते सिन्धुपाल्चोकको राम्चे वडा नं ५ जुरेमा गएको पहिरोले चारवटा टावरलाई क्षति पु¥याएको थियो । भदौ २२ गते सुनकोसी तालको पानी थप खुलेपछि असोज पहिलो साता टावर निर्माण सुरु गर्न लाग्दा नेकपा एमाले, एमाओवादी, राप्रपा र नेकपा मालेसहितका स्थानीय दलले ३५ र नेपाली काँग्रेसले १० प्रतिशत सेयरको माग गर्दै अवरोध पु¥याएका थिए । अमेरिकी पान्डा इनर्जी र हार्जा इन्जिनियरिङ कम्पनीले निर्माण गरी सन् २००१ मा उत्पादन सुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युत् अमेरिकी डलरमा खरिद सम्झौता भएको थियो ।

सुरुमा ३६ मेगावाटको उत्पादन अनुमति पाएको सो आयोजनाले बर्सातमा ४५ मेगावाट उत्पादन गरेपछि नौ मेगावाटको १ रुपैयाँ ६२ पैसामा खरिद गर्ने गरी सन् २०१२ मा विद्युत् प्राधिकरणले सम्झौता गरेको थियो । सन् २०१२ देखि ९५ प्रतिशत सेयर नेपालीले खरिद गरिसकेका छन् भने अमेरिकी कम्पनीको पाँच प्रतिशत मात्र सेयर रहेको छ । अवरोधका कारण कम्पनीले दैनिक ८२ लाख र हालसम्म एक अर्ब १२ करोड घाटा व्यहोर्नु परेको महाप्रबन्धक प्रजापतिले बताए ।