चीनले गर्यो अस्पताललाई आर्थिक सहयोग

पुस  १०,  काठमाडौँ-काठमाडौँको दक्षिणभेगस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल, फर्पिङलाई स्वास्थ्योपचारमा चाहिने उपकरण खरिद गर्न चीन सरकारले रु ९० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।  विभिन्न सेवासहित १५ शय्या क्षमताको अस्पतालमा आकस्मिक सेवा, अपरेसन थिएटरलगायतमा आवश्यक पर्ने सामग्रीका साथै, भेन्टिलेटर, अल्ट्रासाउन्ड मेसिन आदिको खरिदका लागि नेपालस्थित चिनियाँ दूतावासबाट उक्त सहयोग प्राप्त भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशि शर्मा अर्यालका अनुसार प्राप्त सहयोगबाट उपकरण खरिद प्रक्रिया अघि बढाइ चाँडै नै अस्पतालको सेवामा उपयोग गरिने छ ।   २०६० सालदेखि सञ्चालनमा आएको अस्पतालले सामान्य स्वास्थ्योपचार सेवादेखि दाँत, आँखा, ओपिडी, आमा सुरक्षा कार्यक्रम, नियमित खोप सेवा सञ्चालन गर्नुका साथै  टेलिमेडिसिन सेवामार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

काठमाडौँ दक्षिणभेगका साथै मकवानपुर तथा ललितपुर जिल्लाका केही गाविसका सर्वसाधारणका लागिसमेत अत्यन्त उपयोगी बन्दै आएको अस्पतालमा पछिल्लो समयमा काठमाडौँको बल्खु हुँदै मकवानपुरको हेटौँडासम्म दैनिक धेरै सङ्ख्यामा  सवारी साधन आवतजावत गर्ने कारण सेवाग्राहीको सङ्ख्या बढिरहेको छ ।