निर्णय पुनर्विचार गर्न उर्जामन्त्रीसँग आग्रह

पुष १०,  काठमाण्डौ-अर्थ मन्त्रालयले तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रिया रद्द गर्ने निर्णय पुनर्विचार गर्न ऊर्जा मन्त्रालयलाई आग्रह गरेको छ । प्रमुख विकास साझेदारले एसियाली विकास बैंक एडिबीले गरेको मूल्यांकन प्रक्रिया रद्द गर्दा वैदेशिक सहायतामा प्रतिकूल प्रभाव पार्ने भन्दै अर्थले निर्णय पुनर्विचार गर्न बुधबार पत्राचार गरेको हो ।

‘अधिकारका आधारमा एडिबीले मूल्यांकन गरेको हो, ऋण सम्झौता गर्दा यो विषय किन उठाइएन र अहिले विवाद गरिँदै छ रु अर्थसचिव सुमनप्रसाद शर्माले भने, ‘सबै प्रक्रिया सकिएपछि मूल्यांकनमाथि प्रश्न उठाइएकाले निर्णय पुनर्विचार गर्न ऊर्जालाई आग्रह गरेका छौँ ।’
सत्ता साझेदार कांग्रेस र एमाले तनहुँ जलविद्युत्को परामर्शदाता छनोटमा देखिएको विवाद समाधान गरी आयोजना निर्माण अगाडि बढाउन मंगलबार सहमत भएका थिए । सचिव शर्माले नेपालको वैदेशिक सहायतामा दीर्घकालीन असर पार्ने विषयमा स्रोत जुटाउने मन्त्रालयसँग परामर्श नगरी निर्णय गरिएको भन्दै पुनर्विचार गर्न आग्रह गरिएको बताए  ।

ऋण लगानी गर्ने एसियाली विकास बैंक एडिबीको सुपरिवेक्षण परामर्शदाता छनोट मूल्यांकन प्रक्रियामाथि विश्वसनीयताको प्रश्न उठाउँदै ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले गत बिहीबार छनोट प्रक्रिया रद्द गरेकी थिइन् ।

ठेक्का प्रक्रियामा सहभागी कम्पनीको स्थानीय दलालको चलखेलमा छनोट प्रक्रिया रद्द गरिएको आरोप ऊर्जामन्त्री ज्ञवालीमाथि लाग्दै आएको छ ।