आज क्रिसमस इसाई धर्मावलम्बीले बिभिन्न कार्यक्रम गरी मनाउदै

पुस १०,काठमाडौं – जिजस क्राइष्टको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउँदैछन् ।  क्रिसमस इसाई धर्मावलम्बीको विशेष पर्व हो । यसलाई देश तथा विदेशमा भव्य रूपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको झोल पिउने र केक काट्ने परम्परा छ । आजका दिन इसाई धर्मावलम्बीले येशुको सम्झना गर्दै गिर्जाघरमा एकचित्त भएर भोज खाने तथा मनोरञ्जन गर्ने गर्छन् ।

इसाई धर्मावलम्बीले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् । तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको भनाइ छ । प्रभु येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ । विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरू बताउँछन् ।

राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपालका महासचिव सिवी गहतराजका अनुसार नेपालमा क्रिश्चियन धर्मको ४०० वर्षदेखिको इतिहास रहेकामा २०६२÷६३ को आन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको हो ।

यसैविच राष्ट्रपतिडा रामवरण यादव तथा प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त इसाई धर्मावलम्बी सुभकामना व्यक्त गर्नुभएको छ  ।

यसैबीच क्रिसमसको अवसरमा दिउँसो ४ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायत पनि सहभागी हुनुहुने भएको छ ।