अबे जापानको प्रधानमन्त्रीमा पुन नियुक्त

 

पुस ९,टोकियो- जापानको प्रधानमन्त्रीमा हालका कामचलाउ प्रधानमन्त्री सिन्जो अबे पुनः नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री अबे बुधबार जापानी संसदको तल्लो सदन डायटद्वारा स्पष्ट बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । अबेको दलले हालै सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको थियो । सो दलको गठबन्धनको हिसाब गर्दा भने उक्त गठबन्धनले करिब दुई तिहाई बहुमत नै हासिल गरेको थियो । साठी वर्षीय अबेलाई जापानको संसदले दोस्रो पटक प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । उहाँले संसदमा ३२८ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ७३ मात्र मत खसेको थियो । जापानी संसद डायट ४७५ सदस्यीय हो । विपक्षी दलका नेता कात्सुया ओकादाले ७३ मतमात्र प्राप्त गर्नुभएको छ ।

अबेले यसअघि संसदको विघटन गरी गत डिसेम्बर १४ मा आमनिर्वाचनको आह्वान गर्नुभएको थियो । सो निर्वाचनमा उहाँको दल र सो दलसम्बद्ध गठबन्धनले दुई तिहाई बहुमत मत हासिल गरेको थियो ।
जापानी संसदले उहाँलाई प्रधानमन्त्री चयन गरेको समाचार बुधबार बिहान जापान सरकारले औपचारिक रुपमा नै जानकारी गराएको छ । उहाँले यस कार्यकालमा जापानको आर्थिक विकास गरी पहिलाको अवस्थामा नै पु¥याउने प्रण गर्नुभएको छ । उहाँले यही एजेन्डका साथ निर्वाचनमा विजय हासिल गर्नुभएको हो । उहाँको मन्त्रिमण्डलले बुधबार बिहानै राजिनामा दिएको थियो । त्यसपछि आजै संसदले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । उहाँले आजै नयाँ मन्त्रिमण्डल घोषणा गर्नुहुने छ । जापानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री अबेले नयाँ मन्त्रिमण्डल गठनको तयारी थाल्नुभएको बताएका छन् ।