आन्दोलन फिर्ता लिन एमाओवादीसँग प्रधानमन्त्रीको आग्रह

पुष ८, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीलाई आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तस्वीर प्रदर्शनीको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले आफू सहमति, सहकार्य, एकता र मेलमिलापको पक्षमा रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आग्रह गर्नुभएको छ ।

उहाँले संविधानका अन्तर्वस्तुमा रहेका विवाद वार्ताबाट टुंग्याउन आफू तयार रहेको भन्दै उत्तेजनामा नआउन दाहालसँग आग्रह गर्नुभएको छ । उहाँले एमाओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि वार्ताबाट विवाद टुंगिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले अन्तरिम सरकारको नेतृत्व गरेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ६ महिनामा नै संविधान जारी गरेर आफ्नो क्षमता प्रमाणित गरेको भन्दै मुलुकमा अहिले सन्त नेता भट्टराईको अभाव खड्किएको बताउनुभएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका विषयमा रहेको विवाद ६ वर्षसम्म टुंग्याउन नसक्नु लज्जाको विषय भएको बताउनुभएको छ । उहाँले संविधान जारी गर्ने भनिएको म्याद सकिन एक महिना मात्र बाँकि रहेको अवस्थामा पनि संविधानका विषयमा सहमति नहुनुले सबै नेताको कमजोरी छताछुल्ल भएको बताउनुभएको छ ।