लागुऔषध सहित पाँच पक्राउ

पुष ८, काठमाडौँ- काठमाडौंको फरकफरक स्थानमा प्रहरीले लागु औषधसहित पाँच जनलाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरको प्रहरीले काठमाडौं महानगरपालिका–२५ ईन्द्रचोक घर बताउने २१ वर्षीया झरना तुलाधरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ पिस, बुप्रिनर्फिन ५ पिस र फेनारगन एम्पुल ५ पिससहित ईन्द्रचोकस्थित सडकबाट पक्राउ गरेको छ ।

यसैगरी सोही व्यूरोको प्रहरीले सुनसरी धरान नगरपालिका–१७ घर बताउने १८ वर्षीय प्रमोद चौहानलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, बुप्रिनर्फिन ४६ पिस, फेनारगन एम्पुल ४६ पिस र एभिल ४६ पिससहित काठमाडौं महानगरपालिका–२९ नयाँबसपार्कबाट पुस ४ गते पक्राउ गरेको छ । यस्तै प्रहरीले बारा सिमरा–७ घर बताउने २२ वर्षीया कोपिला हामल ठकुरी, २६ वर्षीय राकेश बाध्यकार र ललितपुर मंगलबजार बस्ने उदयपुर कटारी–३ घर भएका १८ वर्षीय विशाल बस्नेतलाई नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ । उनिहरुलाई डाइजेपाम एम्पुल ५ पिस र बुप्रेनर्फिन एम्पुल ५ पिससहित काठमाडौं महानगरपालिका–३५ महादेवस्थानबाट पुस ४ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने सबेलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।