स्वदेशीबाटै अनिवार्य पुनर्बिमा

पुष ८, काठमाडौँ-अर्थमन्त्री रामशरण महतले नवस्थापित नेपाल रिइन्स्योरेन्स कम्पनीबाटै नेपाली बिमा कम्पनीहरुले निश्चित अनुपातमा पुनर्बिमा गराउनुपर्ने प्रावधान बनाउन सकिने बताएका छन्। ‘बिमा कम्पनीहरुले १५ देखि २० प्रतिशत पुनर्बिमा स्वदेशी कम्पनीबाटै गराउनुपर्ने व्यवस्था छिट्टै गरिनेछ, उनले भने। नेपाल रिइन्स्योरेन्स कम्पनीको उद्घाटनमा सोमबार उनले यस्तो बताएका हुन्।

बिमा समितिले रिइन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिएको छ।  सरकारले यो कम्पनी खोल्न ५–६ वर्षदेखि तयारी थालेको थियो। कम्पनीमा सरकारको ४८ प्रतिशत र बाँकी बिमा कम्पनीहरुको लगानी छ। संस्थाको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ छ। सरकारले साबिकको ‘इन्सोरेन्स पुलुमा जम्मा भएको रकमलाई पुनर्बिमा कम्पनीको सेयरमा परिवर्तन गरेको हो। नागरिक दैनिकमा खबर छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा इन्सोरेन्स पुलको पैसा पुनर्बिमा कम्पनीमा लगानी गर्ने घोषणा गरेको थियो। नेपाल सशस्त्र द्वन्द्वको अवस्थामा रहेको बेला आतंककारी गतिविधिबाट हुने क्षतिको जोखिम बेहोर्न विदेशी कम्पनीले आनाकानी गरेपछि सरकारले ११ वर्षअघि इन्सोरेन्स पुल खडा गरेको थियो। पुलमा जम्मा भएको पैसाबाट बिमा कम्पनीलाई दाबी भुक्तानीमा सहयोग गर्ने उद्देश्य थियो।